Sunday, March 15, 2009

नागा बाबाका कुरा




काठमाडौं, फागुन ११– भक्तपुरकी रीना श्रेष्ठ, १२, शनिबार मध्याह्न पशुपति परिसर पुगेपछि भित्र जाने/नजाने दुविधामा परिन्। दुई बहिनीसहित मेला भर्न गएकी रीना पश्चिम ढोका दायाँबायाँ बसेका नागा बाबा देखेर पटकपटक जाँदै–आउँदै गर्दै थिइन्। ´आब्बुइ कस्तो अचम्म!,´ पश्चिम ढोका पुग्नेबित्तिकै उनको अनुहार सोहोरियो। लाजले गाला राता, कान ताता भए। रीनाको अनुहारमा एक्कासी आएको परिवर्तनले बहिनीहरूसमेत खुल्दुलीमा परे। ´के भयो दिदी?,´ उनीहरूले सोधे। रीनाले कारण बताउन सकिनन्। पहिलोचोटि त ढाँटिन् पनि। ´हैन केही भएको छैन,´ उनले भनिन्, ´जा न तँ आफैं। अनि थाहा पाउँछेस्।´ ´भित्र जोगीहरू त नांगै बसेका पो रहेछन्,´ जिब्रो टोक्दै उनी सुटुक्क बहिनीको कानमा फुस्फुसाइन्, ´कसरी दर्शन गर्न जाने? ढोकामै बसेका छन्, लाजलाग्दो छ।´ शिवरात्रिमा पहिलोचोटि नागाबाबा देख्नेलाई यस्तै लाज र अचम्म लाग्छ। तर हरेक वर्ष शिवरात्रिमा पशुपतिको मूल आकर्षण यी बाबा नै हुन्, जुन उनीहरूलाई पनि राम्ररी थाहा छ। ´हामी नआए तिमीहरूले के रमाइलो हुन्छ,´ गोरखपुरबाट आएका राजु बाबाले भने। उनी शिवरात्रिकै लागि भनेर २० दिनअघि पशुपति आएका हुन्। शरीरभर खरानी धसेका, जटा पालेका, गाँजाले लठ्ठिएर आँखा राता भएका थुप्रै नागाबाबा पशुपति परिसर, वनकाली, श्लेषमान्तक वनमा धुनी बालेर बसिसके। मन्दिरभित्र पनि बसाहाको दायाँबायाँ लहरै बसेका छन्। उनीहरूमध्ये कोही लिंगमा घण्टी झुन्ड्याएर बसेका हुन्छन्। कोही तीस किलोभन्दा ठूलो ढुंगा उचालेर रमिता देखाइरहेका हुन्छन्। कोही आशिष दिन बुढी औंलामा खरानी दलेर बसेका भेटिन्छन्।´बाबा आप कौनसा बाबा हे?,´ पशुपतिको पश्चिम ढोकाअघि बसेका एक बाबालाई सोधेँ। ´मे हरिद्वारसे आया बगडिया बाबा हुँ।´ उनी कहिल्यै लुगा लाउँदैनन्। धुनी बालेर सधैं आगोअघिल्तिर बस्छन्। जोगी बनेको २० वर्ष भइसक्यो। ´किन जोगी बन्नुभएको?´ ´यह सब भगवानके इच्छा,´ हिन्दी फिल्म कहो ना प्यार हेमा लक्की अलीले गाएको गीत कण्ठै रहेछ उनलाई र सोही लयमा भन्न थाले, ´खाली हात आएथे हम, खाली हाथ जाएंगे। बच्चे के लैजानु छ र जिन्दगीमा। जे छ यसैमा खुसी हुनु।´ उनले निधारमा विभूति लाएर आशीर्वाद दिए।कुराकानी गरिरहँदा सँगै अर्का नागा बाबा टुलुटुल हेर्दै मुस्काइरहेका थिए। ´बेटे इधर आओ,´ अप्रत्यक्ष पैसा माग्दै भने, ´कुछ दान दे दो बाबा के लिए।´ उनीहरू पूजा गर्ने सिलसिलामा नजिक आएका महिलालाई आसिक दिन झम्टन्थे, पशुपतिका बाँदरले दर्शनार्थीका केरा झम्टेजस्तै। कति महिला नहेरी जान्थे, कोही ढोगेर आशिक लिन्थे। ´निधारमा खरानी (विभूति) लगाउनाले के हुन्छ बाबा?´ भारतको कासीबाट आएका मंगल बाबाले भने, ´माने तो सब कुछ होगा, नमाने तो कुछ भी नही।´ ´बाबा फोटो खिचौं?´ ´नही। क्यु?´ प्रश्न झके उनले, ´कित्ना पैसा दोगे?´ ´पचास, सय, बढीमा दुई सय।´ ´नहीँ,´ उनले मुन्टो हल्लाए। अझै धेरै प्रश्न सोध्ने इच्छा थियो। तर, उनी बोल्न मानेनन्। त्यत्तिकैमा नजिकै बसेका अर्का नागाबाबाले निलो स्लिभलेस कुर्ता लगाएका दुई युवतीलाई देखेर सिट्ठी बजाए। सुइँ, सुइँ ...... ´बाबाको मन त रसिक रहेछ नि?,´ मैले भनें। ´हाम्रो मनचाहिँ ढुंगाको हो र?,´ हिमाञ्चल प्रदेशबाट आएका ती बाबाले हिन्दीमा भने, ´राम्रो केटी देख्दा त मन कटक्क खान्छ नि।´ ´बाबाहरूलाई केहीको लोभलालच हुँदैन रे। सबै थोक त्यागेर आएका हुन्छन रे नि त? मेरो प्रश्नले उनलाई उत्तर दिन गाह्रो परेछ कि क्या हो, पन्छिए। ´आप यहाँ से चलो।´ कतिपय नागा बाबा शिवरात्रिमा मात्रै नांगै बस्दारहेछन् भने कति बाह्रै महिना। चालिस वर्षदेखि नागा बस्दै आएका हिमाञ्चल प्रदेशका बाबा भन्छन्, ´शिवजी पनि नांगै छन्। उनी भित्र छन्। हामी बाहिर। हामी पनि स्वयं शिव हौं।´ हामी यति गफिँदै थियो, उता एक बाबा लगौँटी फुकालेर बाग्मतीमा नुहाउन तयार हुँदै थिए। शुक्रबार मन्दिरबाहिर नांगै बसेकोमा प्रहरीले पक्रेपछि उनले लगौँटी लगाएका रहेछन्। प्रहरीले मन्दिर परिसरभित्र मात्र नागा बाबा बस्न पाउने जनाएको छ। ´जय शम्भो,´ मैले नुहाउनका लागि तयार बाबानजिक गएर भनेँ। ´तथास्तु,´ उनले दायाँ हात उठाए। ´आप कौनसा बाबा हे?,´ उनले मुखमा चोर औंला लगाएर चुप रहन आदेश दिए। मुन्टो हल्लाए। उनले नबोल्ने ब्रत लिएका रहेछन्। ´आपका तस्बिर खिंच सक्ता हुँ मे?,´ क्यामेराको लेन्स सोझ्याउँदै मैले सोधेँ। हातकै इशारामा भने, ´कति पैसा दिन्छौ?´ दाहिने हात उठाएर पाँच रुपैयाँ दिने संकेत गरेँ। मुन्टो हल्लाए र ´पोज´ दिए। जयजय राम स्वामी नारायण आश्रममा बस्दारहेछन् उनी। मैले धेरै आग्रह गरेपछि उनले डायरीमा नाम र वर्ष लेखे, ´म मौन बाबा। कसैसँग बोल्दिन।´ ४२ वर्षका यी बाबा उत्तरप्रदेशबाट आएका रहेछन्, उनैले लेखेको डायरीबाट थाहा भयो। मैले पाँच रुपैयाँ झकेर दिएँ। मौन बाबाले ओठ लेप्प्राए। सायद यति थोरै पैसाले के आउँछ भनेर होला। पशुपतिनाथको उत्तर ढोकामुनिको पुल नजिकै खरानीले छोपिएका, लट्टा कपाल भएका नागा बाबाचाहिँ विदेशीलाई गमक्क पर्दै पोज दिइरहेका थिए। विदेशीले फोटा खिच्ने भनेपछि हुरूक्कै हुन्छन् उनीहरू। विदेशीले मनग्गे पैसा दिन्छन् भन्ने उनीहरू ठान्छन्। ´रिफ्लेक्टर´ मिलाई/मिलाई फोटो खिचिरहेका ती विदेशीले पनि मनग्गे पैसा दिए। सबैले गरेर जम्माजम्मी एक हजार। यी नागा बाबा सरकारसँग भने निकै रिसाएका छन् यस वर्ष। ´यह सरकार क्या है? हमें पकडता है,´ एक बाबा जंगिए। उनी रिसाउनुको कारण प्रहरीले चर्तिकला देखाउन रोक लगाउनु रहेछ। उनीहरूको कमाइ हुने बाटो भनेकै यही हो। नागा बाबाबीच गालीको दोहोरी पनि चल्छ। एकअर्कालाई तथानाम गाली गर्न खप्पिस हुन्छन्। दर्शनार्थी भने यो सुनेर निःशुल्क मनोरञ्जन लिन्छन्। ´आफूसँग प्रभुको बास दुनियाँलाई बाहिरकै आस आधी खोला उर्लेर आयो आउने थिइन मायाले बोलायो´ श्लेष्मान्तक वनमा भेटिएका अर्का बाबा गीत गाउँदै पर्यटकको ध्यान तान्दै थिए। उनी नजिकै डोरीले बाँधेर राखेको २० किलो जतिको ढुंगा छ। अघिल्लो दिन लिंगले त्यो ढुंगा उचालेका थिए उनले। आज पनि पैसा दिने कोही फेला पारे उचाल्ने उनले बताए। ´बाबाजी आपका नाम क्या हे?´ ´बेटे मेरा नाम तरबार गिरी बाबा है,´ नेपालीमा राम्रो दख्खल राख्ने उनले भने, ´मलाई यो देशमा सबैले यही नामले चिन्छन्।´ ´तपाईको घर कहाँ?´ सोधिनसक्दै उनी जंगिए। ´जोगीको घर नसोध्नु, राजाको अघि नहिँड्नु, मेरो कहीँ घर छैन। स्याङ्जामा बस्छु।´ पशुपति क्षेत्र परिसरमा दुई दर्जनभन्दा बढी नागा बाबा आएका छन्। अगाडि दर्शनार्थी आउनेबित्तिकै बुढी औंलाले विभुति लगाइदिन्थे निधारमा लामो धर्साे। ´आके बाबाको दान, दक्षिणा दे दो,´ सबै नागा यही भन्थे। ´बाबा, आप कौन बाबा हे?´ लिंगमा घण्ट झुन्ड्याएर बसेका बाबालाई सोधेँ।´मै घण्टा बाबा हुँ,´ हाँस्दै भने, ´कुछ दे बालक।´बाबाहरूको पनि महँगीले भाउ बढेको रहेछ यसपाला शिवरात्रिमा। पाँच रुपैयाँ झकेर दिए फालिदिन्थे। फोटो खिचेपिच्छे पैसा माग्थे। सँगैको साथीसँग पाँच रुपैयाँ मागेर मलाई दिए।´भिकारी के दिएको? पाँच रुपैयाँले केही आउँछ? थपेर तैँ लिएर जा १० रुपैयाँ।´ आखाँ रातो पार्दै भने।मैले पाँच रुपैयाँ थपेर १० रुपैयाँ दिए। ´एक पाउ चिनी आउने त पैसा दे।´ दस रुपैयाँ पाएपछि अलि खुसी भए उनी।नेपालका कमै नागा बाबा देख्न र भेट्न पाइन्छ। भारतको हिमाञ्चल, उत्तर प्रदेश, द्वारिकानाथ, हरिद्वार र बद्रिनाथबाट आएका बाबाहरू धेरै छन्। ´जोगीहरु ढोंगी र भोगी हुन्छन् रे नि?´चालिस वर्षदेखि नागा बस्दै आएका मंगल बाबालाई सोधेँ। ´हैन। बाबालाई केही लोभलालच हुँदैन। सबै त्यागेर हिँडेका कसरी ढोंगी हुन्छन्? भोगी पनि हुन्नन्। हामीलाई त्यतातिर ध्यानै जाँदैन´ मंगल बाबाले भने।अनि यत्रो मानिसको अघि नांगै बस्दा लाज लाग्दैन?मैले अन्तिम प्रश्न सोधेँ।´सब लोग नांगै जन्मेका हुन्छन्। मर्ने पनि नांगै हो। केको लाज?´ उनले भने, ´शरम आती है तो करम भी फुट जाएगी।´

No comments:

Post a Comment